

७३ लाख ९३ हजार ठगी गरेर फरार रहेका इन्स्टिच्युट सञ्चालक पक्राउ

कैलाली – प्रहरीले कैलालीबाट एक इन्स्टिच्युट सन्चालकलाई पक्राउ गरेको छ । विद्यार्थीहरुलाई विभिन्न प्रलोभनमा पारी ७३ लाख भन्दा बढी रकम अशुली फरार रहेका गौरीगंगा नगरपालिका–८ बस्ने ३४ वर्षीय राजाराम चैधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीलाई लम्कीचुहा नगरपलिका–९ धनचैयास्थित उनको भिनाजुको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
चौधरीले सिटिभिटिबाट अनुमति लिएको भन्दै अनुमति विना नै गैरकानूनी रूपमा धनगढी उपमहानगरपालिका–८ स्थित संचालन गरेको मल्टिस्किल ईन्ष्टिच्यूट अफ टेक्नोलोजी प्रालिमा भर्ना लिई अध्ययन गराई अभिभावक तथा ईन्ष्टिच्यूटमा अध्ययनरत १ सय १८ जनालाई झुक्याई ४९ लाख २८ हजार ४ सय ९५ रुपैयाँ ठगी गरेको मुद्धामा जिल्ला अदालत कैलालीको २०७४ चैत १४ गतेको फैसालाले उनलाई २ महिना कैद र ३ लाख २८ हजार ४ सय ९५ रुपैयाँ जरिवाना भएको थियो ।
साथै २०७५ मङ्सिर ४ देखि मङ्सिर ७ गतेसम्म पटक पटक गरी सोही ईन्ष्टिच्यूटमा विद्यार्थीहरूको भर्ना शुल्क र मासिक शुल्क गरी १९ लाख ६५ हजार ४ सय १४ रुपैयाँ ठगी फरार भएको तथा धनगढी उपमहानगपालिका–१ बस्ने एक महिलालाई भारत बैंगलोरबाट बिएस्सी नर्सिङ पास गरेको प्रमाणपत्रहरू त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट मान्यता दिलाउन भनि प्रलोभनमा पारी ५ लाख रुपैयाँ ठगी गरेको अनुसन्धनाबाट खुल्न आएको थियो ।
साथै सोही कार्यमा संलग्न कैलाली, कैलारी गाउँपालिका–९ बस्ने ३३ वर्षीय शिव कुमार चौधरीलाई यसअघि माघ ५ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

