


अवैध गाँजा र ब्राउनसुगरसहित पाँच जना पक्राउ

काठमाडौं – कास्की, कैलाली र बाँकेबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित सोही महानगरपालिका–१५ घलेचोक बस्ने १९ वर्षीय सलिन खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग।२ ख २४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार खानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेको डुडुवा गाउँपालिका–५ बाट ६ सय मिलिग्राम ब्राउनसुगरसहित सोही गाउँपालिका–४ खाले मसाह बस्ने ३६ वर्षीय जगदिश कुमार वर्मा समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रीनगर व्यारेल नजिकबाट ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित गोदावरी नगरपालिका–५ बस्ने ३० वर्षीय कृष्ण सुनार समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

