

महाेत्तरीमा कर्फ्यु जारी, घटनाकाे छानबिन गर्न समिति गठन

काठमाडाैं – सरकारले महोत्तरीमा भएको दुई समुदायबीचको झडपको घटना छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयले आज शुक्रवार सह–सचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उप–सचिव विश्वराज मरासेनी सदस्य हुनुहुन्छ । समितिलाई एक हप्ताको समय दिइएको छ ।
हिजो बिहीवार भंगहा–८ पररिया टोलमा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जनाभन्दा धेरै घाइते भएपछि हिजो दिउँसाे ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलले आठ बुँदे सहमति गरेको छ । सहमति भए पनि अझै कर्फ्यु भने हटेको छैन ।
अवस्था हेरेर भोलि शनिवार बिहानसम्म कर्फ्यु खुकुलो बनाउँदै लैजाने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

