संगठनलाई सम्झिएका दुई ‘कमाण्डर’हरु !


काठमाडौं – आज (सोमबार) नेपाल प्रहरीले ६७ औं प्रहरी दिवस मनायो । उक्त अवसरमा विशेष गरी अमर प्रहरीको सम्झनामा प्रहरी संगठनले सम्मानजनक कार्य गरेको थियो ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना गरिएको कार्यक्रममा गत एक वर्षभित्र २६ जना प्रहरी कर्मचारीले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गर्दै कार्यक्रमस्थलमा उपस्थित मृतक प्रहरीका ३ जना आफन्तलाई कदरपत्र प्रदान गरिएको थियो ।

उक्त अवसरमा चितवन, मनाङ र सिन्धुपाल्चोकमा ज्यान गुमाएका क्रमशः प्रहरी नायब निरीक्षक अर्जुन पौडेल, सहायक हवल्दार नारायण थापा मगर र प्रहरी जवान सुजन खड्काका परिवारलाई कदरपत्र प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरेका थिए ।

प्रहरी संगठनले ६७ औं प्रहरी दिवस मनाइरहँदा हालसम्म २८ जना प्रहरी महानिरीक्षक (आईजी) बाट अवकाश पाइसकेका छन् भने २९ औं आईजीका रुपमा धिरजप्रताप सिंह कार्यरत छन् ।

अहिलेसम्म अवकाश प्राप्त २८ मध्ये दुई ‘कमाण्डर’हरुले भने संगठनले लगाएको गुनको बदला संगठनमा आश्रितप्रति दायित्वबोध गरेको पाइयो । पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरा र अच्युतकृष्ण खरेल सेवा निवृत्त भइसकेपछि अमर प्रहरीका सन्ततीका साथै र संगठनमा कार्यरत उत्कृष्ट कर्मचारीको हौसला र मनोबलका लागि अक्षयकोषको स्थापना गरे ।

जुन संगठनमा ३० औं वर्षसम्म रहेर जीवन गुजाराका साथै परिवारको पालनपोषण गरी सुखमय जीवननिर्वाह गरिरहेका सिनियरहरुले त्यही संगठनबाट पारिवारिक वियोग भोगेका दुई सन्ततीलाई गरेको सहयोग ज्यादै नमूनायोग्य काम हो । कार्यरत रहँदाका बखत कर्तव्य पालना गर्दै गरेका ती दुई आईजीहरुले अवकाश प्राप्त गरिसकेपछि पनि दायित्वबोध गरिरहनु संगठनका लागि गौरवको विषय हो । संगठनले ती दुई महान् व्यक्तित्वबाट नै पुरस्कार हस्तान्तरणको व्यवस्था गरेको खण्डमा दाताहरुप्रति पनि थप सम्मान हुनसक्ने थियो ।

अच्युतकृष्ण खरेल र मीना खरेलको नामबाट अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति यस वर्ष छात्रातर्फ रञ्जु जिसी (अर्घाखाँची) र छात्रतर्फ सन्दीप थापा (दाङ) ले प्राप्त गर्न सफल भए । यस पुरस्कारको राशी जनही ५१ हजार रुपैयाँ रहेको जनाइएको छ । खरेल दम्पतीले २०७७ साल चैत ९ गतेदेखि अक्षयकोष स्थापना गरेका थिए ।

त्यस्तै मोतीलाल बोहरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार ययपटक प्रहरी उपरिक्षक (एसपी) सन्तोष खड्काले प्राप्त गर्न सफल भए । एसपी खड्का उक्त पुरस्कारबाट सम्मानित हुने पहिलो प्रहरी कर्मचारी समेत बनेका छन् । बोहराले गत असोज १२ गते वार्षिकरुपमा १ जनालाई ५१ हजार रुपैयाँ राशीसहित पुरस्कृत गर्ने गरि अक्षयकोष स्थापना गरेका छन् ।

करिब ९० हजार कर्मचारी रहेको संगठनमा कार्यरत कर्मचारीको हौसलाका लागि सेवानिवृत्त कर्मचारीले बोध गरेको दायित्वलाई संगठनले पनि मूल्यांकन गरेमा अन्यलाई पनि प्रेरणाको स्रोत बन्नसक्दछ जसले गर्दा संगठनमा रहेका अन्य कर्मचारीहरुलाई पनि हौसला र कामप्रतिको उत्प्रेरणा जागृत गराउन मद्दत पुग्दछ, त्यसतर्फ संगठन सजग हुन आवश्यक छ ।

विशेष कार्यक्रमपछि आयोजित जलपान कार्यक्रमस्थलमै भेटिएका पूर्व आईजी खरेलले आफू ‘ब्रत’को दिन बाहिर कहिँ ननिस्कने भएतापनि संगठनको कार्यक्रम भनेर उपस्थित भइरहेको बताइरहँदा ‘डेजर्ट’ मात्रै लिइरहेका थिए । उनलाई वर्तमान आईजी धिरजप्रताप सिंहले टेबुलमै ल्याइदिने भने पनि खरेलले ‘अझै पनि दम छ’ भनेर भनिरहँदा अनुज सिंहको अग्रजप्रतिको ‘सम्मान’ र अग्रज खरेलको ‘आत्मविश्वास’ झल्किएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा गृहमन्त्री बालकृष्ण खाँण संगठनले गत एक वर्षभित्र गरेका कार्यहरुको संक्षिप्त विवरण प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पेश गरेका थिए । कार्यक्रममा उत्कृष्ट प्रदेश प्रहरीमा १ नम्बर प्रदेशलाई ‘पुलिस ब्याटन’ प्रदान गरिएको थियो भने लाइफ टाइम अचिभमेन्ट अवार्डबाट अवकाशप्राप्त प्रहरी अतिक्ति महानिरीक्षक राजेन्द्रबहादुर सिंहलाई सम्मानितसमेत गरिएको थियो ।

प्रतिक्रिया