चाडपर्व सुरक्षा सतर्कता : यात्रुवाहक बसमा प्रहरीले हतियारसहित गस्ती गर्ने


मकवानपुर – नजिकिँदै गरेको चाडपर्वमा सुरक्षा सतर्कताका लागि यात्रुवाहक बसमा प्रहरीले हतियारसहित गस्ती गर्ने भएको छ । मकवानपुर प्रहरीले सुरक्षित यात्रामा सहयोग गर्नका लागि रात्रिबसमा हतियारसहित गस्ती गर्ने भएको हो ।

मकवानपुरको सीमामा पर्ने पश्चिममा लोथरदेखि दक्षिणमा चुरिया माई मन्दिरसम्ममा ६ वटा प्रहरी टोलीले यात्रुवाहक बसमा रातिको समयमा हतियारसहित गस्ती गर्ने जनाएको छ ।

यस क्षेत्रमा चाडपर्वको समयमा लुटपाट हुनसक्ने आकलन गर्दै प्रहरीले यस्तो सुरक्षा योजना बनाएको हो । ‘चाडपर्वको समयमा धेरै सवारी आउजाउ हुन्छ । प्रहरी बसमा भएपछि यात्रुलाई पनि सहज र सुरक्षित महसुस हुन्छ । त्यसैले हामीले यस्तो योजना बनाएका हौं,’ मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक वामदेव गौतमले भने ।

प्रहरीले जिल्लाभर नौ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी लामो दूरीका यात्रुलाई आवश्यक सहजीकरणसमेत सुरु गरिसकिएको उनले बताए । चाडपर्व लक्षित गरेर मकवानपुर प्रहरीले सुरक्षा योजना नै बनाएर काम गरिरहेको छ ।

जिल्लाभर दैनिकरुपमा सवारी चालकहरुको मादक पदार्थ र लागूपदार्थ सेवनको परीक्षण गर्ने व्यवस्था प्रहरीले गरेको छ । ‘बैंक तथा वित्तीय संस्था र भीड हुने स्थानमा हामीले बर्दी र सादा पोसाकमा प्रहरी खटाइसकेका छौं‚’, २४ सैं घण्टा प्रहरी गस्तीको व्यवस्था मिलाइएको बताउँदै उनले भने ।

प्रतिक्रिया