डिआईजीले पत्रकारलाई आपत्तिजनक शब्द भनेपछि…


दैलेख – सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआईजी) अभि खत्रीले नागरिक राष्ट्रिय दैनिकमा कार्यरत दैलेख जिल्ला संवाददातालाई आपत्तिजनक शब्द प्रयोग गरेका छन् ।

डिआईजी खत्रीको सुर्खेतबाट सरुवा भएको विषयलाई लिएर जिल्ला संवाददाता गोविन्द केसीले सामाजिक सञ्जालमा नाम उल्लेख नगरीकन, ‘दैलेखमा जन्मेर दैलेखी भन्न लाज मान्ने एकजना बरिष्ठ सरको सुर्खेतबाट सरुवा भएछ । यस्ता दैलेखी जहाँ भए नी केही फरक पर्ने छैन ।’ भनी लेखेको त्यसको प्रतिक्रियास्वरुप डिआईजी खत्रीले केसीलाई आपत्तिजनक शब्द प्रयोग गरेको पुष्टी भएको छ ।

केसीले म्यासेन्जरमार्फत् धम्की समेत आएको बताए । ‘मैले कसैको नाम उल्लेख नगरेर स्टाटस लेखेको थिएँ,’ केसीले भने, ‘डिआइजी खत्रीले आफैलाई भनेको जस्तो गरेर अस्लिल शब्दसहित कमेन्ट गर्नुभयो, म्यासेन्जरमार्फत धम्की दिनुभयो।’

अभि खत्री नामक फेसबुकबाट उनको स्टाटसमा Me Dig Avi khattri lai lekhkeo yo ko khate ho लेखेर प्रतिक्रिया दिएपछि पत्रकार केसीले कसैको पनि नाम उल्लेख गरेको विषयमा आफूलाई नै भनेको भनी अपमानजनक शब्द प्रयोग गर्दै आफ्नो मानहानी गरेको भन्दै नेपाल पत्रकार महासंघ दैलेख शाखामा मौखिक उजुरी गरेपछि महासंघ दैलेख शाखाले घटनाप्रति खेद प्रकट गरेको छ ।

शाखाले डिआइजी खत्रीले नागरिककर्मी केसीलाई दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डिआइजी खत्रीलाई कारवाहीको पनि माग गरेको छ। ‘आफ्नो पदीय मर्यादालाई ख्याल नगरी सामाजिक सञ्जालमार्फत अपमानजनक स्टाटस लेख्ने सशस्त्र प्रहरीका डिआइजी खत्रीलाई आवश्यक कानुनी कारवाहीका लागि सम्वन्धित निकायसँग माग गर्दछौं,’ अध्यक्ष यज्ञराज थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पछिल्लो घटनाक्रम अनुसार घटना सञ्चारमाध्यममा आएपछि डिआईजी खत्रीले केसीलाई फोन गरेर माफी मागेको समेत केसीले जनाएका छन् ।

विवादित अधिकृतको छवि बनाएका डिआइजी खत्री यसअघि सशस्त्र प्रहरी बलको आर्थिक प्रशासन महाशाखा प्रमुख रहँदा उनकै योजनामा केन्द्रीय लेखा शाखामा आगो लागेको भन्दै छानबिनमा समेत परेका थिए ।

प्रतिक्रिया