कार्यालयभित्रै पोशाकमै जुवा खेल्ने १२ प्रहरी कर्मचारी कारबाहीमा


सर्लाही – प्रहरी कार्यालयभित्र पोशाकमै जुवा खेल्ने १२ प्रहरी कारबाहीमा परेका छन् । ईलाका प्रहरी कार्यालय, बरहथवा, सर्लाहीको कार्यालय भित्र प्रहरी कर्मचारीहरुले प्रहरी पोशाकमा जुवाको खाल बनाई तास खेलिरहेको, केही प्रहरी कर्मचारीहरु दर्शक भई तास खेलेको हेरिरहेको र केही प्रहरी कर्मचारीहरुले कमेन्ट्री सहितको मोबाईलबाट भिडियो समेत बनाई रहेको भिडियो प्रशारण भएको सम्बन्धमा गरिएको छानबिनपछि उनीहरुलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी मदन कुँवरले बताए ।

उक्त घटना सञ्चारमाध्यममा आइसकेपछि गत पुस २२ गते प्रहरी निरिक्षक नरेन्द्र कुमार मोरबैताको कमाण्डमा गठन गरिएको छानविन समितिले सत्य तथ्य बुझी राय सहितको पेश गरेको प्रतिवेदन अनुसार निम्न स्थानमा दरबन्दी भई उक्त कार्यालयमा कार्यरत निम्न प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली, २०७१ (संसोधन सहित) बमोजिम अभिलेखमा जनिने गरी कारबाही गरिएको जनाइएको छ ।

अभिलेखमा जनिने गरी कारबाहीमा पर्नेहरुमा सिमा प्रहरी चौकी संग्रामपुर सर्लाही दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी जवान मोहन थापा, प्रहरी चौकी भाडसर सर्लाही संचार शाखा दरबन्दी भई यस कार्यालयमा कार्यारत प्रहरी जवान अर्जुन कुमार सिंह, तालुक २ नं. प्रदेश स.प्र.गण गुल्म नं.१ जनकपुर दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी जवान राजकिशोर भण्डारी, प्रहरी चौकी महुवन पर्सा दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी जवान गिता चौधरी र प्रहरी चौकी गौरीशंकर सर्लाही दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी जवान सन्तोष कुमार यादवलाई सुरु स्केलमा घटुवासहित अभिलेखमा जनिनेसहित कारबाही गरिएको जनाइएको छ ।

त्यस्तै अभिलेखमै जनिने गरि पहिलो पटक कारबाहीमा पर्नेमा तालुक २ नं.प्रहरी दंगा नियन्त्रण प्रहरी गण, जनकपुर दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रमोद प्रसाद यादब, ईलाका प्रहरी कार्यालय फुलगामा, धनुषा दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक राज कुमार साह, जिल्ला प्रहरी कार्यालय सर्लाही अपराध अनुसन्कान शाखा दरबन्दी भई यस कार्यालयमा कार्यरत रहेका प्रहरी हवल्दार महेश प्रसाद यादब, प्रहरी चौकी हरिपुर्वा सर्लाही दरवन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी हवल्दार रामबाबु साह र प्रहरी चौकी राजघाट सर्लाही दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी जवान जित नारायण राय रहेका छन् ।

साथै विभिन्न स्थानमा दरबन्दी भई यस कार्यालयमा कार्यरत प्रहरी जवानहरु सञ्जयकुमार साह र तिलक बहादुर मगरलाई अभिलेखमा नजनिने गरी सख्त चेतावानी दिईएको सर्लाहीका प्रवक्ता कुँवरले बताए ।

प्रतिक्रिया