

३५ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि लम्बोदरलाई डिल्लीबजार कारागार चलान

काठमाडौं – नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने कारागार चलान भएका छन्। जिल्ला अदालत भक्तपुरले न्यौपानेसँग ३५ लाख रुपैयाँ धरौटी माग गर्दा न्यौपानेले तिर्न नसक्ने बताएपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो।
न्यौपानले अख्तियारका तत्कालिन आयुक्त पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको अडियो बाहिरिएको थियो। सो प्रकरणपछि प्रहरीले न्यौपानेमाथि ठगी आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो।
उनलाई गएको मंसिर १० गते काठमाडौंको चण्डोलस्थित निवासबाटै केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ माग गरिएको छ।
उनीसँगै पक्राउ परेका दुईजना भने धरौटी तिरेर छुटेका छन्। सोही कलेजका पूर्वलेखा नियन्त्रक रामकुमार श्रेष्ठ १० लाख र पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा सहायक प्रशासक चोलाकान्त च्वाई ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्।

