घर नै भाडामा लिएर अनलाइन जुवा खेलाउने ७ जना भक्तपुरबाट पक्राउ


काठमाडौं – अनलाइन जुवा खेलाइरहेको अवस्थामा भक्तपुरबाट ७ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यप्रसाद छवलु श्रेष्ठको घर भाडामा लिएर अनलाइन जुवा सञ्चालन गरेको सूचना पाएपछि सोमबार छापा मार्दा ७ जना पक्राउ परेका हुन् ।

पक्राउ परेका सबै २० देखि २८ उमेरभित्रका रहेका छन् । ती मध्ये ४ जना युवती छन् भने ३ जना युवक रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रामेछाको दोरम्बा गाउँपालिका–७ घर भइ अनलाइन जुवाको मेनेजर भएर काम गरेका २२ वर्षीय जोयल तामाङ, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २० वर्षीय सञ्जय श्रेष्ठ, सोही ठाउँका २५ वर्षीय कपिल श्रेष्ठ, भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटकी २३ वर्षीया मोनिका श्रेष्ठ, सिन्धुलीको सुनकोशी नगरपालिका–५ कि २२ वर्षीया रुपाकुमारी पुलामी, सप्तरीको खडक नगरपालिका–३ कि २८ वर्षीया प्रभातकिरण लोहनी र सूर्यविनायक नगरपालिका–५ कि २६ वर्षीया बिनिता तामाङ छन्।

उनीहरुले सूर्यप्रसाद छवलु श्रेष्ठको घर भाडामा लिएर ६ महिनादेखि अनलाइन जुवा खेलाउँदै आएको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी कमल थापाले जनाए ।

उनीहरुले घरको कोठाहरुमा कम्प्युटर तथा मोबाइल राखेर अनलाइन एप्लिकेशनमार्फत् जुवा खेलाउनले गरेको सीआईबीले जनाएको छ। उनीहरुले अहिलेसम्म १ करोड १९ लाख ३१ हजार ८०४ रुपैयाँ बराबरको अनलाइन कारोबार देखिएको एसपी थापाले बताए।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया