

उच्चस्तरीय टोलीद्वारा विवादित मध्यपहाडी लोकमार्ग अनुगमन

लमजुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृग्थीसुब्बा गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ गजेन्द्र थपलियालगायतको उच्चस्तरीय टोलीले विवादित मध्यमहाडी लोकमार्गको अनुगमन गरेका छन्। सो टोलीले आज यस खण्डको विवादित सुन्दरबजार नगरपालिका–७ पाउँदिदेखि वडा नं ५ थाक्रेबेँसीसम्मको ८ किलोमिटर सडक र मध्यनेपाल नगरपालिकामा पर्ने यस नगरको वडा नं ६ भोर्लेटार र रामबजार खण्डमा अनुगमन गरेको हो ।
अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले यस आर्थिक वर्षभित्रै सुन्दर बजार भित्रमा पर्ने विवादित ८ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने बताए । उनले भने, ‘धेरै वर्षदेखिको विवादित यस सडक निर्माण हुन जरुरी छ, बाटो निर्माण गर्नुपर्छ तर जनतालाई मर्का नपर्ने गरी बाटो निर्माण हुनेछ ।’ बाटो निर्माणमा सबैलाई सहयोग गर्नलाई मुख्यमन्त्री गुरुङले आग्रह गरे ।
उनले भने, ‘सुन्दर बजारका अधिकतम घर बचाउँदै मध्यपहाडी लोकमार्ग निर्माण हुने र स्थानीयलाई समस्यामा पर्न नदिने गरी सडक निर्माण गर्न प्रदेश सरकार प्रतिबद्धता छ ।’ यद्यपी यहाँका घर रहेको स्थानमा सडक कति मिटरको हुने भन्नेबारे मापदण्ड भने सरकारले गर्ने र सोही अनुसारको सडक बन्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले यस लोकमार्गअन्तर्गत गोरखा, लमजुङ र कास्कीका केही भागमा विवादित रहेको र यसको समाधानको प्रयासमा रहेको बताए । यसमध्ये लमजुङमा पर्ने विवादित सडकखण्डमा लोकमार्गको मापदण्डअनुसार बनाउनलाई सम्भव नभएको र यहाँका स्थानीय जनताले थेग्न सक्ने गरी सडक निर्माण हुने आयोगका उपाध्यक्ष कँडेलको भनाइ छ । उनले भने, ‘निर्माण कार्यलाई अघि बढाउने हो, डिपिआर गर्ने र त्यसको आधारमा अघि बढ्ने छौँ ।’

