अछाम पहिरोमा पुरिएर मृत्यु भएकाको सामूहिक दाहसंस्कार


अछाम – बाढी र पहिरोमा परि ज्यान जाने २३ जनाको आज सामूहिक दाहसंस्कार गरिएको छ । जिल्ला अस्पतालको चिकित्सकसहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए ।

शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एकजना गर्भवती महिला, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो । परिवार पूरै सखाप हुने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ ।

जिल्लाको कमलबजार नगरपालिका ६ विपथमा ७ जना, बडा नम्बर ८ ढाँकुमा ५ जना, तुर्माखाँद ५ नाडामा ९ जना र ढकारी ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एक/एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । कमलबजार ६ विरपथकी २० वर्षीया धना जनाला ६ महिनाकी गर्भवती रहेकी र पेट काटेर छोरा गर्भमा रहेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

भौतिक क्षतिसमेत ठूलो नै भएको त्यसको विवरण सङ्कलन कार्य जारी रहेको डिएसपी डाँगीको भनाइ छ । स्थानीय तहले जथाभावी सडक निर्माण गर्ने गरेका कारण अछाम जिल्ला नै पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरो गएका सबै ठाउँमा सडकका कारण प्रमुख रहेको पाइएको छ । गत साउन ८ गते राती तुर्माखाँद २ भुलुमा पहिरो गई तीन जनाको मृत्युका कारण पनि घर माथिको सडक रहेको जनाइएको छ ।

बिनातयारी, अध्ययनबिना नै डोजरले बाटो खन्ने क्रम बढ्दो छ । पहिरो गएका आसपासका र अन्य संवेदनशील क्षेत्रमा अझै जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटी लगायतले राहत दिन समेत थालेका छन् ।

सडक अवरुद्ध भएका कारण घटना स्थलसम्म जान समेत समस्या रहेको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका सभापति रत्नप्रसाद ढुङ्गानाले बताए । पहिरोमा परी घाइते ११ जना मध्ये तीन जनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

प्रतिक्रिया