

दसैँमा सैनिक र आश्रित परिवारलाई सेनाले यातायात सुविधा दिने

काठमाडौं – दसैंको अवसरमा नेपाली सेनाले बिदामा घर जाने बहालवाला सकल दर्जा तथा तिनका आश्रित परिवारहरुलाई यातायात सेवा प्रदान गरेको छ ।
कल्याणकारी सेवा-सुविधा अन्तर्गत भदौ २९ गतेबाट असोज १८ गतेसम्म जमिनी एवं हवाई मुभ सञ्चालन गरी सकल दर्जा तथा आश्रित परिवारहरुलाई आ-आफ्नो गन्तव्य स्थलसम्म पुर्याउने कार्य भइरहेको सेनाले जनाएको हो ।
सडक सञ्जालको सहज पहुँच पुगेका स्थानहरुमा जमिनी बाटोबाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रहरुमा हवाई उडान संचालन गर्ने योजना अनुरुप हालसम्म हवाई उडानमार्फत १३४ जना लाभान्वित भएका छन् । यसैगरी जमिनी मुभ असोज ४ गतेबाट संचालन हुने सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत वर्ष यस सुविधा अन्तर्गत हवाई उडानमार्फत ११२ जना र जमिनी मुभमार्फत १३४० जना गरी जम्मा १४५२ जना सकल दर्जा तथा आश्रित परिवारहरु लाभान्वित भएका थिए । साथै, यस वर्षको बडा दशैंको विदामा जाने अधिकतम् सकल दर्जा तथा आश्रित परिवारहरुलाई जमिनी तथा हवाई यातायातमार्फत सम्बन्धितहरुको गन्तव्यसम्म पुर्याउने योजना रहेको सेनाले जनाएको छ ।

