आदित्यलाई उदितको सुझावः ‘आमाबाबुलाई दोष नदिनु’


मुम्बई(एजेन्सी)– बलिउड गायक तथा कार्यक्रम सञ्चालक आदित्य नारायण झा चाँडै नै आफ्नो फिल्म ‘शापित’की कोस्टार श्वेता अग्रवालसँग विवाह गर्दैछन् । ख्यातीप्राप्त गायक उदितनारायण झाका एक्लो यी सन्तानको विवाहको विषयलाई लिएर बलिउड निकै गर्माएको छ । अहिले धेरैको ध्यान आदित्यको विवाहको विषयमा पिता उदितको बुझाई के छ भन्नेमै छ ।

उदितले हालैको एक अन्तरवार्तामा उदितले आदित्य र श्वेताको विवाहको तयारी चलिरहेको र सबै कुरा सही भएमा डिसेम्बर १ मा विवाह गर्ने बताएका छन् । ‘सत्य कुरा बोल्ने हो भने यो वर्ष हामीले आदित्यको विवाह गर्न चाहेका थिएनौं । हाम्रो इच्छा पनि उसको धुमधामसँग विवाह गराउने नै थियो । तर कोरोनाले यी सबै इच्छा र चाहना पानी सरह बगाइदियो’, उनले भनेका छन्, ‘निकै सोच विचार पछि हामीले यही वर्ष छोरालाई एउटा नयाँ जिम्मेवारी सुम्पने निर्णय लिएका छौं । कमै व्यक्तिको उपस्थितिमा छोराको विवाह हुनेछ । झन्डै तीन सय मानिस भेला गराएर विवाह गर्ने योजना थियो । तर सरकारको नियमका कारण त्यो गर्न सकिनँ । डिसेम्बरसम्म केही सुधार भएमा मेरो एक्लो छोरोको विवाह इन्जोय गर्नेछु ।’

उदितले हुनेवाला बुहारी श्वेतालाई आफूले कैयौं वर्षदेखि आदित्यको एक साथीका रुपमा मात्र चिन्ने गरेको उल्लेख गरेका छन् । हरेक आमाबाबुको जस्तै आफू र दीपाको चाहना पनि आदित्य चाँडै सेटल होस् भन्ने रहेको उनले खुलाए । उनले आफूहरुले धेरै युवती देखाउने प्रयास गरे पनि आदित्यले नमानेको खुलाए ।

‘मलाई याद छ, अगष्ट ३१ को दिन ऊ मेरो अगाडि आयो र आफूले विवाह गर्ने निर्णय लिएको बतायो । सुन्दा त म छक्क परें । तर पनि उसलाई सबै कुरा राख्न अनुमति दिएँ । त्यही बेला उसले श्वेतालाई १० वर्षदेखि चिनेको र लाइफ पार्टनर बनाउन चाहेको बतायो । मैले उसलाई केही भयो भने आमाबाबुलाई दोष नदिनु भन्ने सुझाव दिएँ’, उनले भने ।

उदितका अनुसार डिसेम्बर १ मा आदित्य र श्वेता मुम्बईको एक मन्दिरमा विवाह गर्दैछन् । यो विवाहमा ५० जना मात्र मानिसको उपस्थिति हुनेछ ।

प्रतिक्रिया