वर्किङ भिषामा अफगानिस्तान पठाइदिने भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ


काठमाडौं — नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वर्किङ भिसामा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगी गर्ने राप्ती प्लेसमेन्ट सर्भिसका सञ्चालक रविन अधिकारीलाई बिहीबार बसुन्धराबाट पक्राउ गरेको हो ।

चितवन स्थायी घर भएका अधिकारी टीका विश्वकर्मालाई वर्किङ भिसामा अफगानिस्तान पठाइदिने भन्दै ८ लाख ठगेर फरार भएका थिए ।

उनले पीडितलाई वर्किङ भिषामै अफगानिस्तान जाने र १ लाख बढी तलब हुने बताउँदै आएका थिए ।

पीडितको उजुरीपछि वैदेशिक रोजगार विभागले कार्यालयलाई पत्राचार गरेको आधारमा अभियुक्तलाई  पक्राउ गरेको कार्यालयले जनाएको छ ।

अभियुक्तलाई कारबाहीका लागि विभागमा बुझाइएको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया