

अश्लील भिडियो बनाएर सामाजिक सञ्जालमार्फत ‘हैरानी’ बनाएपछि…

काठमाडौं – सामाजिक सञ्जाल भाइबार, इन्स्टाग्राम र बिगोमा साथी बनाएर कुराकानी गर्ने क्रममा अश्लील भिडियो बनाएर हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएर काठमाडौंको बौद्ध बस्ने १९ वर्षका रमीज राजा र ताप्लेजुङ घर भएर बौद्ध बस्ने ३२ वर्षका जेम्स तामाङ छन् ।
रमीजले नाबालिकासँग भाइबरमा अडियो संवाद गरेर ‘तिम्रो अश्लील भिडियो भाइरल छ’ भनेर त्रास देखाएर तस्बिर इडिट गरेर बनाएको भिडियो पीडितको भाइबरमा पठाएर नाजायज फाइदा लिन खोजेको साइबर ब्यूरोले जनाएको छ।
अर्का आरोपी जेम्सले इस्टाग्राममा कुरा गर्दा पीडित महिलालाई फकाएर अश्लीलता प्रदर्शन गर्न बाध्य पारेर सो भिडियो स्क्रिन सट गरेर आर्थिक मोलाहिजा गरेको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए । आरापीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ब्यूरोले ५-५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

