

बाटोमा भेटिएको झोलासहित एक लाख ७३ हजार रुपैँया फिर्ता

दमौली – धादिङको ज्वालामुखी गाउँपालिका–७ का ४१ वर्षीय तकबहादुर नेपाली सोमबार मोटरसाइकलमा पोखरा जाँदै थिए । ग६प ६६९२ नंको मोटरसाइकलमा सवार नेपालीले मोटरसाइकल पछाडि झोला राखेका थिए ।
चितवनबाट पोखरा आउँदै गरेका उनको तनहुँको व्यास–१ अम्रेनीमा आइपुग्दा झोला खस्यो । झोलामा थियो नगद एक लाख ७३ हजारसहित अन्य कागजात ।
झोला हराएको सूचना नेपालीले जिल्ला प्रहरी कार्यालय तनहुँलाई दिए । उक्त झोला सोमबार राति नै चितवनको भरतपुर महानगरपालिका–१ रामबजार बस्ने २९ वर्षीय कृष्णबहादुर कुँवरले फेला पारे । झोला खोलेर हेर्दा पैसा देखेपछि उनले तत्कालै उक्त झोला प्रहरी कार्यालयमा बुझाए।
उक्त झोला प्रहरीले मङ्गलबार सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ‘झोला फेला पार्ने व्यक्तिमा इमानदारिता देखियो, उहाँलाई विशेष धन्यवाद छ’, उनले भने, ‘हामीले नगद र अन्य कागजातसहितको झोला तकबहादुरलाई बुझाएका छौँ ।’

