

पर्यटक भिसामा खाडीमुलुक जान लागेका १९७ जना नियन्त्रणमा

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडीमुलुक जान लागेका एक सय ९७ लाई नियन्त्रणमा लिइएको छ।
यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी गराएको छ।
विमानतर्फ प्रथान गर्ने क्रममा जाँच गर्दा उनीहरूको हवाई यात्रा अनुमति कागजात शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिइएको जनाइएको छ।
नियन्त्रणमा लिइएकामा एक सय तीन महिला र ९४ जना पुरुष छन्। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

