

महोत्तरीमा बन्ने भयो मणिपाल कलेज

महोत्तरी – अढाइ दशकको पर्खाइपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मणिपाल कलेज बन्ने भएको छ । चौबीस वर्षअघि इञ्जिनियरिङ कलेज निर्माण गर्न जलेश्वर नगरपालिका-८ मा ३५ बिघा जग्गा खरिद गरिएको थियो । अब त्यहाँ इञ्जिनियरिङ कलेजका साथै अन्तर्राष्ट्रियस्तरको अन्य प्राविधिक कलेज सञ्चालनमा ल्याइने मणिपाल कलेजका निर्देशक नारायण पौडेलले बताए ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार मणिपाल ग्रुपका निर्देशकसहितको टोली आएर स्थलगत निरीक्षण गरेको छ । निर्देशक पौडेलले अब चाँडै जलेश्वरमा मणिपाल कलेज निर्माण कार्य सुरु गरिने जानकारी दिए । मणिपालका अर्का निर्देशक शान्तराज बतासले जलेश्वरमा कलेज निर्माण तथा सञ्चालनका लागि गुरुयोजना बनिसकेको र सम्बन्धन लिने तथा अन्य प्राविधिक काम तीव्रगतिमा भइरहेको बताए ।
उनले कलेज निर्माण तथा सञ्चालनका लागि जलेश्वर नगरपालिका तथा स्थानीयवासीको साथ र सहयोग भए निर्माण कार्य सुरु गरेर चाँडै सम्पन्न गरी/गराई इञ्जिनियरिङ तथा अन्य अन्तर्राष्ट्रियस्तरको प्राविधिक शिक्षाको शुभारम्भ गरिसक्ने उल्लेख गरे ।
मणिपाल कलेजका प्रमुख इञ्जिनीयर सञ्जयकुमार गुप्ताले भारतको बिहार र उत्तर प्रदेशसँग सिमाना जोडिएको यस क्षेत्रमा भारतीय विद्यार्थी पनि जलेश्वरमा इञ्जिनियरिङ शिक्षाका लागि आउने ठूलो सम्भावना रहेको बताए ।
मधेश प्रदेशका महान्यायाधिवक्ता दीपेन्द्रकुमार झाले कलेज निर्माण तथा सञ्चालनका लागि सरकार तथा अन्य सरोकारवाला निकायसँग इजाजत, सहमति र सहकार्य एवं अन्य प्राविधिक क्रियाकलाप द्रुतगतिमा भइरहेको जानकारी दिए ।

