विराटनगर रथयात्रा : शंकास्पद गतिविधिमा गर्ने ५९ जना पक्राउ


विराटनगर – विराटनगरमा निकालिएको धार्मिक एवं ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा अत्यधिक भीडभाडको मौका छोपेर अवाञ्छित गतिविधि गर्ने ५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रथयात्रा जारी रहेका बेला अवाञ्छित एवं शंकास्पद गतिविधिमा संलग्नलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरले जनाएको छ । पक्राउ परेकाहरु सबै पुरुष हुन्। अधिकांश ३० वर्षसम्मको उमेर समूहका छन्।

मादक पदार्थ सेवन गरेर होहल्ला एवं हुलहुज्जत गर्ने, झैझगडा र मोबाइल तथा सिक्री चोरीमा संलग्नलाई नियन्त्रणमा लिइएको हो। पक्राउ गरिएकामध्ये केहीको साथबाट चोरिएका सुनका सिक्री र मोबाइलसमेत फेला पारिएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रथयात्राका क्रममा सिक्री चोरी भएको भनेर चारवटा उजुरी प्रहरीमा परेको छ। सातवटा मोबाइल चोरी भएको उजुरी पनि परेको छ। सामान चोरी हुनेको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ।

विराटनगरमा शनिबार ५४ औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको थियो।

प्रतिक्रिया