

ठगीको अभियोग लागेका ‘पत्रकार’: हिरासतमुक्त हुँदै फेरि ठगीमै
टेलिभिजनमाथि दबाब : एक हातमा कारबाही फुकुवा अर्कोमा राजिनामा

काठमाडौं – पत्रकारिता पेशाको खोल ओडेर बैदेशिक रोजगारीका लागि राम्रो अवसर दिने भन्दै झापा, मोरङ र सुनसरीका बेरोजगार युवाहरुलाई ठगी गर्दै आएका एक व्यक्ति हिरासतमुक्त भएको पत्र देखाउँदै फेरि खुलम खुल्ला ठगीमा लागेका छन् ।
नेकपा एमालेको जनबर्गिय संगठन भनेर चिनिएको पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल, झापा माईपश्चिम अध्यक्ष भूमिराज पराजुलीको यस्तो गैरव्यवसायिक क्रियाकलापलाई लिएर नेपाल पत्रकार महासंघले उनलाई निलम्बन समेत गरेको छ ।
युरोपियन मुलुक रुमानिया पठाई दिन्छु भन्दै राजनीतिक आडमा पराजुलीले दर्जन बढी युवाबाट प्रतिव्यक्ति दुईदेखि तीन लाख रुपैयाँ लिने र महिनौंसम्म झुलाउने गरेपछि बैदेशीक रोजगार विभागमा उजुरी दिने तीन जना पीडितले रकम फिर्ता पाए पनि अन्यले रकम फिर्ता पाएका छैनन् ।
पराजुलीबाट ठगिएका नरेन्द्र तामाङसहित तीन जनाले विभागमा गत असार २० गते उजुरी दिएपछि विभागले पत्रकार पराजुलीलाई पक्राउ गर्न असार २८ गते जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको थियो । तर, राजनीतिक दबाबको आधारमा जिप्रका झापाले पराजुलीलाई पक्राउ नगरेपछि पीडितहरु इलाका प्रहरी कार्यालय दमक गएका थिए ।
पीडितको दबाब थेग्न नसकेपछि प्रहरीले पराजुली कार्यरत दमकको हिमशिखर टेलिभिजनमा पुगेको थियो । लुकेर काठमाडौं आएका पराजुलीले विभागमा कर्मचारीसँगको सेटिङमा उजुरी दिने तीन जनाको मात्र रकम फिर्ता गरी हिरासतमुक्त भएको पत्र देखाउँदै हिँडेका छन् ।
पराजुलीले पीडित तीन जनाको रकम फिर्ता गर्नुअघि काठमाडौंमै झापा भद्रपुर ३ निवासी रञ्जित राईलाई पुनः रुमानियाँ पठाउँछु भन्दै साउन १९ गते तीन लाख रुपैयाँ असुल गरेको प्रमाण हामीले फेला पारेका छौं । हिरासत मुक्त भएको पत्र देखाउँदै दमक पुगेका पराजुलीले आफूलाई ठगी प्रकरणको समाचार बाहिरिएपछि निलम्बन गरेको हिमशिखर टेलिभिजनमा पुगेर आफूमाथि गरेको निलम्बन फुकुवा गर्न दबाब दिएका थिए ।
हिमशिखर टेलिभिजनका अध्यक्ष ध्रुवप्रसाद न्यौपानेलाई एमालेका नेतामार्फत दबाब दिन लगाएर साउन २४ गते दिउँसो कारबाही फुकुवा गराउन सफल भएका थिए । बैदेशिक रोजगारीमा ठगी गरेको अभियोगबाट सफाई नपाउँदै हिरासतमुक्त भएका पराजुलीलाई कारबाही फुकुवा गर्न न्यौपानेले शुरुमा इन्कार गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग घनिष्ठ सम्वन्ध भएका न्यौपानेले राजनीतिक दबाब थेग्न नसकेपछि एक हातमा फुकुवाको पत्र दिँदै अर्को हातबाट उनले तुरुन्त दिएको राजिनामा स्वीकृत गरेका छन् । स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएपछि गृह नगर झापा पुगेका ओली हिमशिखर टेलिभिजनका अध्यक्ष न्यौपानेकै निवासमा एक रात बसेका थिए ।
पत्रकार महासंघलाई भने प्रेस चौतारी निकटका पत्रकारहरुले हिरासतमुक्त भएका पत्रकारलाई सफाई दिन दबाब दिएरहेको एक पत्रकारले बताए ।
पत्रकार भएकाले आफूसँग माथिल्लो निकायको पहुँच रहेको भन्दै पराजुलीले गठी गरेर बिचल्लीमा परेका अन्य चार जना युवाहरु पुनः काठमाडौंमा आएर उजुरी दिने तयारीमा छन् । तर उनले उजुरी दिन खोज्ने पीडित युबाहरुलाई धम्की दिएको एक पीडितले अनलाईन न्युज सेभेनलाई बताए ।
प्रेस चौतारीका नेता पराजुलीलाई पक्राउ पुर्जी भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि पराजुलीले आफूले कसैलाई पनि रुमानिया पठाउँछु नभनेको तर मेरो खातामा अरुले नै पैशा हालिदिएको थाहा नभएको बताएका थिए ।
उनले आफ्नो खातामा आएको पैशा सम्बन्धित व्यक्तिलाई बुझाएको प्रतिक्रिया दिएका थिए । तर उनको खातामा आएको रकम कुन व्यक्तिलाई किन बुझाएको भन्ने विषयमा उनले बताउन चाहेनन् ।
पराजुलीबिरुद्ध अन्य पीडितको समेत मौखिक गुनासो र उजुरी आए पनि बैदेशिक रोजगार विभागले उजुरी दिनेहरुको रकम फिर्ता गरेकोले मिलापत्र गराई हिरासतमुक्त गरी पराजुलीलाई उन्मुक्ति दिएकाे छ ।

