

उजुरी गर्न पुगेका नुरप्रसाद अधिकारीद्वारा न्यायपरिषद्मा तोडफोड

काठमाडौं – गोरखा फुजेलका नुरप्रसाद अधिकारीले न्यायपरिषद् कार्यालयमा तोडफोड गरेका छन् ।
आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने ललितपुर जिल्ला अदालतका न्यायाधीशमाथि भ्रष्टाचारलगायतका आरोप लगाउँदै उजुरी दिन भनी न्यायपरिषद् कार्यालय पुगेका उनले झ्यालढोकासहित विभिन्न सामग्री तोडफोड गरेका हुन् ।
न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारीले बिहीबार दिउँसो न्यायपरिषद्का झ्याल‚ ढोका‚ कम्प्युटर र स्क्यानर तोडफोड गरेका हुन् । न्यायाधीशले उनीविरुद्ध अदालतको फैसला कार्यान्वयनमा अवरोध पुर्याएको भन्ने रिटमा पक्राउ पुर्जी जारी गरेका थिए।
गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेको आरोप छ ।
त्यसपछि गंगामाया र उनका पति नन्दप्रसाद अधिकारीले राज्यका हरेक निकायमा पुगेर छोराको हत्यामा संलग्नलाई कानुनअनुसार कारबाही गरिपाऊँ भनी निवेदन दिएका थिए । तर, कतै पनि सुनुवाइ नभएपछि उनीहरू काठमाडौं आएर २०७० साउन देखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि सडकमै अनशन बस्न सुरु गरे ।
सत्याग्रहमा बस्दाबस्दै अवस्था नाजुक भएपछि सरकारले अधिकारी दम्पतीलाई वीर अस्पतालमा लगेर राखेको थियो । अस्पतालमै पनि दुवैले सत्याग्रह जारी राखेका थिए । सत्याग्रहको २ सय ३४ औं दिन २०७१ असोज ६ गते नन्दप्रसादको अस्पतालमै मृत्यु भएको थियो । त्यसपछि केही समय तोडिएको अनशन विभिन्न समयमा गंगामायाले जारी राखेकी थिइन् ।

