सशस्त्रको अवैध ढाटका कारण सवारी दुर्घटना

अदालतको ‘स्टे अर्डर’ लत्याउँदै चेकिङको नाममा पैसा असुल्दै सशस्त्रका डिआईजी गिरी


झापा – सशस्त्र प्रहरी बलले राजमार्गमा चेकजाँचका नाममा अवैध चेक प्वाइन्ट खडा गरेपछि सवारी दुर्घटना बढेको छ । महेन्द्र राजमार्गस्थित झापाको मेचीनगर नगरपालिका वडा नं. ७ स्थित जोरसिमल भन्ने स्थानमा सशस्त्र प्रहरी बलले चेक प्वाइन्ट खडा गरेपछि सो क्षेत्रमा सवारी दुर्घटना बढ्दै गएको हो ।

प्रदेश नं. १ का सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) कमल गिरीको ठाडो आदेशमा राखिएको उक्त चेक प्वाइन्टका कारण पूर्वपश्चिम गुड्ने सवारीसाधनहरु दुर्घटनामा पर्ने गरेका छन् । त्यसबाहेक सीमामा जाँच गरेर आएका व्यावसायी एवं सर्वसाधारणलाई पुनः त्यस जोरसिमलमा पनि जाँच गरिने गरिएको छ । ती बाहेक जोरसिमलदेखि सीमा क्षेत्रसम्मका मात्रै सर्वसाधारणलाई पनि चेक जाँच गर्ने गरिएकोले अनावश्यक झन्झट बेहोरिरहेका छन् । ‘सीमा पार नगरे पनि चेकजाँचको सामना गर्नुपर्छ,’ एक स्थानीयले बताए ।

उक्त क्षेत्रलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट काँकरभिट्टा कार्यालयले हेर्ने भए पनि कानुनले अख्तियारी नै नदिएको स्थितिमा सीमाभन्दा करिब ५ किलोमिटर टाढाको स्थानमा स्थायी चेकपोष्ट खडागरी चेक जाँचको नाउँमा अवरोध सिर्जना गरेको छ । डिआईजी गिरीको ठाडो आदेशमा सीमा वारपार गर्ने सर्वसाधारण एवं अन्य व्यापारिक प्रयोजनका व्यक्ति तथा सवारीहरुलाई जाँच गर्ने जिम्मेवारी लिए पनि सीमा भन्दा करिब ५ किलोमिटर पर अर्को चेकप्वाइन्ट खडा गरेर अनावश्यक झन्झट दिँदै आएको छ ।

सरकारले लोकमार्गमा स्थायी ढाट राख्न नपाइने बताउँदै सुरक्षा संवेदनशील स्थानमा सिसिटिभीबाट निगरानी गर्ने निर्णय करिब १३ वर्ष अघि नै गरिसकेको छ । सरकारले २०६६ सालमा ‘लोकमार्गहरुमा राखिएका ढाटहरुले व्यवसायिक लागत बढाई अन्ततोगत्वा मूल्यवृद्धिको मारमा उपभोक्ताहरु पर्ने हुँदा लोकमार्गहरुमा कुनै पनि निकायले ढाट वा अवरोध राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिनेछ । सुरक्षा निकायहरुले पनि स्थायी ढाट राख्न पाउने छैनन् । सुरक्षा संवेदनशील स्थानमा विद्युतीय निगरानी गरिनेछ’ भन्ने व्यवस्था भइसकेको अवस्थामा डिआईजी गिरीले ठाडो आदेश दिँदै कमाउ धन्दा चलाएको स्थानीयले बताए ।

‘सीमा पारिबाट सामान लिएर आयो आफ्नै देशमा एउटै निकायलाई २÷२ पटक चेक जाँच गराउनुपर्छ, यो कस्तो नियम हो ?,’ एक व्यापारि आक्रोश पोख्छन् ।

सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले सीमावारपार गर्ने सर्वसाधारण एवं अन्यका लागि सीमा नजिकै चेक जाँच गर्दछ । तर, सीमाभन्दा करिब ५ किलोमिटर टाढा राजमार्गमा चेकिङ प्वाइन्ट राखिएको यो नेपालकै पहिलो र एकमात्र चेकिङ प्वाइन्ट हो । जसले सर्वसाधारणलाई सहज बनाउने भन्दा असहज, दुःख, झन्झट दिने काम गरिरहेको मात्रै छैन, अनपेक्षित रुपमा रहेको चेक प्वाइन्टका कारण सवारी साधन पनि दुर्घटनामा पर्ने गरेका छन् ।

त्यस सम्बन्धमा सन्दीप खनालले उच्च अदालत विराटनगरमा रिट दायर गरेपछि अदालतले विपक्षीको नाममा ‘स्टे अर्डर’ जारी गरिसकेको छ ।

प्रतिक्रिया