
सैनिक नियमावली संशोधन, सिपाहीको पेन्सन १६ बर्षमा, प्रहरी र सशस्त्रमा के होला?
काठमाडौं– नेपाली सेनाले सैनिक नियमवाली संशोधन गर्दै फलोअर्स र सिपाहीले सेवा प्रवेश गरेको १६ बर्षमा नै पेन्सन पाउने गराएको छ।
सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गरेको हो। जसलाई रक्षा मन्त्रालयले सहमति गर्दै कानुन मन्त्रालयमा पत्राचार गरिसकेको छ। नेपाली सेनाका सिपाहीहरूले १७ वर्षदेखि राख्दै आएको माग प्रधानसेनापति पूर्णचन्द्र थापाले पूरा गरेका हुन्।
रक्षा मन्त्रालयले सेनाले गरेको यो प्रस्तावलाई १६ पुसमा नै सहमति गरी पत्राचार गरेको छ।
नयाँ नियमावलीअनुसार, २८ वैशाख ०६० र त्यसपछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन १६ बर्षमा हुने निश्चित भएको छ। यसअघि पेन्सन अवधि २० बर्ष बनाइएको थियो। नियमावली संशोधनसँगै तल्लो तहमा जागिर खाने सेनालाई राहत मिलेको छ।
यस्तै नेपाली सेनाले सहायक सेनानी र सोभन्दा माथि महारथीको पेन्सन २० वर्षमा हुने नयाँ नियमावलीअनुसार गरेको छ। सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको सैनिक स्रोतले जनाएको छ।
यसैबीच नेपाली सेनाले सैनिकको पेन्सन अवधि १६ बर्ष कायम गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि नियमावली संशोधन गर्नुपर्ने दबाबमा छन्। नेपाल प्रहरीका जवानको पेन्सन १६ बर्षमा कायम हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।



कागजपत्र |
