स्थापनाको २ वर्षपछि गण्डकी प्राविधिक शिक्षालयले पायो ४ विषय अध्यापनको अनुमति


पर्वत – पोखरा महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहु प्राविधिक शिक्षालयले वन विज्ञान (फरेष्ट्री), बायोमेट्रिक इञ्जिनियरिङ, डिप्लोमा इन फार्मेसी र हेल्थ असिस्टेन्ट (एचए) चार विषय अध्यापन गर्ने अनुमति पाएको छ।

स्थापनाको २ वर्षपछि शिक्षालयले ४ वटा विषयमा अध्यापन गर्ने अनुमति प्राप्त गरेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को गत साउन १५ गते बसेको बैठकले गण्डकी बहु प्राविधिक शिक्षालयलाई ती विषय अध्यापनको अनुमति दिने निर्णय गरेको हो।

शिक्षामन्त्री देवेन्द्र पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले सञ्चालन गर्ने शिक्षालयले सस्तो शुल्कमा अध्यापन गर्ने र खर्चको अभावमा क्षमता भएर पनि अध्ययन गर्न नसकेका विद्यार्थीहरूले पनि अध्ययन गर्न पाउने गरी अनुमतिका लागि पहल गर्दै आइरहेका थिए।

सरकारी शिक्षालयले अध्यापन अनुमति पाएसँगै विद्यार्थीले सुलभ शुल्कमा फार्मेसी र एचए अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ। शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाका अनुसार शिक्षालयले लिने शुल्क निजी मेडिकल कलेजको शुल्कका तुलनामा झन्डै तेब्बर थोरै हुनेछ। शिक्षालयले फार्मेसी र एचए अध्ययनको शुल्क भने तोकिसकेको छैन।

शिक्षालयले पहिलो वर्ष फरेष्ट्री र बायोमेट्रिक इञ्जिनियरिङ अध्यापन शुरु गर्ने तयारी गरिरहेको छ। फार्मेसी र एचए भने अर्को वर्षदेखि अध्यापन गर्ने गरी शिक्षालयले तयारी गरिरहेको निर्देशक तिमिल्सिनाले बताए।

प्रतिक्रिया