दाल ल्याउने भन्दै दुबईबाट चुरोट आयात गर्ने फर्मलाई ११ करोड जरिवाना


काठमाडौं – वीरगञ्ज सुख्खा भन्सार कार्यालयलेदाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गर्ने एक फर्मलाई झण्डै पौने ११ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ । काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो ।

जरिवाना तिर्नका लागि सम्पर्कमा नआएपछि र्फमका सञ्चालक नवराज गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेले जानकारी दिए ।

दुबईबाट मुङको दाल बोकेर वीरगन्जको सुक्खा बन्दरगाह आइपुगेको कन्टेनरमा ठूलो परिमाणमा विदेशी चुरोट बरामद भएपछि आयातकर्ता सम्पर्कविहीन भएका थिए । दुबईबाट भारत हुँदै सुक्खा बन्दरगाहमा आएको कन्टेनर गत असार १३ मा भन्सार कार्यालयका कर्मचारीले जाँचपासका लागि खोल्दा ५८ लाख ३८ हजार ४ सय खिल्ली चुरोट बरामद भएको थियो ।

सुक्खा भन्सार कार्यालयका अनुसार प्रज्ञापनपत्रमा आयातकर्ताले २६ हजार ६१० केजी मुङ दाल आयात गरेको घोषणा गरेका छन् । तर, कन्टेनरमा १४ हजार ८२५ केजी मात्र मुङ दाल बरामद भएको छ । नेपालमा बिक्री गर्न नमिल्ने चुरोट भएकोले भन्सारले जफत गरेको छ ।

प्रतिक्रिया