एन्फा कार्यसमिति बैठक साउन २६ गते विहिबार बस्ने


काठमाडौं – विवादका कारण स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक साउन २६ गते विहिबार बस्ने भएको छ । यसअघि दुई पटक बोलाइएको बैठक स्थगित भएको थियो ।

पहिलो पटक साउन २ गते बोलाईएको बैठक एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि र साउन ५ गतेका लागि बोलाईएको दोस्रो बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो । बैठकमा एन्फाको प्रमुख कार्यकारी अधिकृत (सिईओ), प्रवक्ता, अन्य पदाधिकारी नियुक्ति लगायत पुरानै एजेन्डामा छलफल र निर्णय हुने बताईएको छ ।

असार ६ गते भएको निर्वाचनमा कर्माछिरिङ शेर्पालाई हराएर अध्यक्ष बनेका नेम्वाङले निर्वाचनपछि पदवहालीको दिन एजेन्डाविनै महासचिवमा किरण राई, विदेश विभाग प्रमुखमा विदेशी नागरिक नविन पाँडे र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्ति गरेपछि एन्फामा विवाद चुलिएको छ ।

नेम्वाङलाई निर्वाचन जिताउन सहयोग गर्ने एन्फा पूर्व अध्यक्ष गणेश थापा समूहलाई वेवास्था गर्दै निर्णय गरेपछि अहिले कार्यसमिति तीन समूहमा विभाजन भएको हो । जसमा नेम्वाङ अल्पमतमा परेका छन् ।

१९ सदस्यीय कार्यसमितिमा अहिले नेम्वाङको पक्षमा आफुसहित दुई जना पदाधिकारी मात्र छ। थापा समूहको पक्षमा १० र शेर्पा समूहको पक्षमा सात जना पदाधिकारी छन् ।

निर्वाचनमा चार सदस्यको मत बराबरी भएका कारण दुई जना विशेष साधारण सभाबाट चुनिन बाँकी नै छ । कार्यसमितिमा अल्पमतमा परेका कारण नेम्वाङलाई बैठक बोलाउन र निर्णय गर्न किठन हुँदै आएको छ । जसले गर्दा फुटबलका नियमित कार्यक्रममा समेत असर परेको छ ।

प्रतिक्रिया