भलिबल संघको अध्यक्षमा मास्केकाे उम्मेदवारी


काठमाडौं – नेपाल भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै संघकी वर्तमान उपाध्यक्ष मास्केले चुनावी घोषणा पत्रसहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा उनले नेपालको भलिबल विकासको विविध एजेण्डा र कार्यक्रम सार्वजनिक गरेकी थिइन् । सो क्रममा उनले भलिबलको पूर्वाधार विकासदेखि कार्यक्रम, प्रशिक्षण, प्रोत्साहन र प्रशासनीक सुधारको कार्यक्रमलाई अघि बढाउने बताइन् ।

ग्रासरुटदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोही अनुसारको कार्यक्रम गर्ने, काठमाडौंसहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र संघको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने उनले उल्लेख गरिन्।

मास्केले संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय तहसँग सहकार्य गर्ने र निजी क्षेत्र सहित विभिन्न रणनीतिक साझोदारलाई भलिबल खेलको विकाससँग जोड्ने एजेण्डा अघि सारेकी छन् । नेपाल भलिबल संघको केन्द्रीय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया