

तिलोत्तमाकी उपमेयरकी बुहारीले दिइन् घरेलु हिंसामा परेको उजुरी

बुटवल- स्थानीय तहमा सामान्यतया घरायसी विवाद मिलाउने काम उपप्रमुख तथा न्यायिक समिति संयोजकको हो। तर, रूपन्देहीको तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकी बुहारीले आफूमाथि घरेलु हिंसा भएको भन्दै उजुरी दिएकी छन्।
तिलोत्तमा नगरपालिका १७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया वर्षा थारूले घरेलु हिंसामा परेको भन्दै उजुरी हुन्। वर्षाले आफ्ना श्रीमान् मोहन थारूले दैनिक लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको आरोप लगाएकी छन्। उनले इलाका प्रहरी मंगलापुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले जानकारी दिए।
रोकाका अनुसार मोहनको कुटाइबाट वर्षाको शरीरमा चोटसमेत लागेको छ। मोहनले दैनिक लागुपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु ससुराले समेत बेवास्ता गरेको वर्षाको आरोप छ।
गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको उनले प्रहरीलाई बताएकी छन्।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको रानाले बताए। घटनाबारे थप जानकारी दिन खोज्दा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले वर्षाका श्रीमान् मोहन थारू सम्पर्कविहीन भएको बताए।
वर्षाको शरीरमा रहेको चोटबारे जानकारी लिन लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको ओसीएमसीमा पठाइएको तर उनी सम्पर्कमा नआएको प्रहरी प्रमुख केसीले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको र वर्षालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको बताउँदै उनले बताए ।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा उपप्रमुख चौधरी सम्पर्कमा आइनन् । चौधरी नेकपा (एमाले)बाट दोस्रोपटक तिलोत्तमाको उपप्रमुखमा निर्वाचित भएकी हुन्।

