फेसबुकमा ग्याजेट बिक्रीको सूचना राख्दै ठग्ने दुई पक्राउ


ललितपुर — महानगरीय प्रहरी परिसर ललितपुरले फेसबुकमा ग्याजेट (आईफोन, घडी, मोबाइल लगायतका सामाग्रीको) विक्रीको सूचना राखेर लाखौं ठगी गर्ने गिरोहको मुख्य सदस्य पक्राउ गरेको छ । परिसरबाट खटिएको विशेष टोलीले उक्त गिरोहका नेपाल प्रमुख २८ वर्षीय अजय भनिने प्रमोद शाहलाई पक्राउ गरेको हो ।

ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार उनलाई पर्साबाट शुक्रबार पक्राउ गरिएको हो ।

‘फेसबुकमा कम्युटर, मोबाइल, घडी, ल्यापटप लगायत बजार मूल्यभन्दा कम रकममा डेलिभर गराउने भनेर उनले रकम उठाउने गरेका थिए’, बज्राचार्यले भनिन्, ‘विभिन्न लेयरको अनुसन्धान गर्ने क्रममा मुख्य व्यक्तिलाई समातेका हौं ।’

ललितपुर प्रहरीको आग्रहमा आइतबार पर्सास्थित प्रमोदको आईएमई सेन्टरमा पनि प्रहरीले छापा हानेको छ । पर्सा प्रहरीले चलाएको अपरेशनमा रकम पठाइएको कागजपत्रहरु बरामद गरिएको छ । ती कागजपत्रबाट पीडितका थप विवरण प्राप्त हुने प्रहरीको अपेक्षा छ ।

शाहसँगै यसअघि उनका सहयोगी मेवालाल शाह तेलीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनको एटीएम कार्ड प्रयोग गरेर प्रमोदले पैसा निकाल्ने गरेका थिए ।

दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान थालिएको छ । उनीहरुले कम्तिमा एक करोड रुपैयाँ ठगी गरेको प्रहरी आशंका छ ।

प्रतिक्रिया