

बैतडीमा १ हप्तादेखि विद्युत् सेवा अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकामा १ हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । १ हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा दोगडाकेदारका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सञ्चालन नभएको उपभोक्ताको गुनासो छ ।
विद्युत् अवरुद्ध भएको ७ दिन बितिसक्दा पनि प्राधिकरणको ध्यान नगएकाले अन्धकारमा बस्न बाध्य स्थानीय जनकसिंह ठगुन्नाले बताए । विद्युत् नहुँदा मोबाइल चार्ज, मिल सञ्चालन गर्न सकिएको छैन ।
यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको जनाएको छ । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति हुँदा विद्युत् सेवा नियमित गर्न ढिलाइ भएको केन्द्रका कार्यालय प्रमुख पवन भट्टले जानकारी दिए ।

