

महाबाणिज्यदूत कार्कीले पाए युरोपियन इन्टरनेसनल विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि

काठमाडौं – मोरिससका लागि नेपालमा अवैतनिक महावाणिज्य दूत तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इमान) का उपाध्यक्ष गणेश कार्कीले युरोपियन इन्टरनेसनल विश्वविद्यालयबाट मानार्थ विद्यापारिधिको उपाधी प्राप्त गरेका छन् ।
युनिभर्सिटीले ‘ग्लोबल लिडरसिप इन बिजनेश म्यानेजमेन्ट’मा कार्कीलाई मलेसियामा आयोजित विशेष समारोहमा मानार्थ विद्यावारिधि (प्रोफेसनल डक्टर प्रमाणपत्र) प्रदान गरेको हो ।
मलेसियाकी राजकुमारी डा. रोमना मुराडको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कार्कीले नेपालको सामाजिक र आर्थिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो उपाधि प्रदान गरिएको जनाइएको छ ।
मानार्थ ‘विद्यावारिधि’ प्रदान कार्यक्रममा युरोपियन इन्टरनेशनल युनिभर्सिटीका संस्थापक तथा महानिर्देशक डा. एडवर्ड रोय कृष्णनको बिशेष उपस्थितिमा सो उपाधी दिइएको थियो । युरोपियन इन्टरनेशनल युनिभर्सिटी फ्रान्सको चर्चित बिश्वबिधालय हो ।
३० देशका एकसय ५० भन्दा बढी विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा कार्कीसहित ५५ जनालाई विभिन्न विधामा मानार्थ ‘विद्यावारिधि’बाट दीक्षित गरीएको थियो ।
सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडका कार्यकारी निर्देशक तथा रोटरी क्लव अफ पाटन हेरीटेजका अध्यक्ष समेत रहेका कार्कीले नेपालका जलविद्युतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका छन् ।

