

भ्रष्टाचार र कालोबजारीविरुद्ध हेटौंडामा एमालेको जनप्रदर्शन

हेटौंडा – नेकपा एमाले मकवानपुरले वर्तमान सरकारले जनता र राष्ट्रलाई आघात पुर्याउने काम गरेको भन्दै हेटौंडामा सरकारविरुद्ध आन्दोलन गरेको छ ।
मंगलवार बागमती प्रदेशको राजधानी हेटौंडामा बढ्दो मंहगी र कालोबजारीमा सरकारको बेखबर रहेको तथा सरकार भ्रष्टाचारमा डुबेको भन्दै सरकारविरुद्ध एमालेले आन्दोलन गरेको हो ।
हेटौंडा-५ पुष्पलाल पार्कस्थित जिल्ला पार्टी कार्यालयबाट शुरू भएको र्याली हेटौंडा बजारको बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले परमादेशबाट बनेको गठबन्धन सरकार जनताप्रति गैरजिम्मेवार बन्दै गएको आरोप लगाए ।
विरोध प्रदर्शन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाले वर्तमान सरकार जनताप्रति जवाफदेही नरहेको भन्दै एकपछि अर्काे गम्भीर गल्ती गरेको दाबी गरे । उनले भने, ‘बजेट निर्माणको प्रक्रियामा बाहिरी मान्छेको घुसपैठदेखि अहिले नयाँ नागरिकता विधेयक ल्याउँदासम्म वर्तमान सरकार चुकेको छ ।’
सरकारले जनताको आयस्तरमा ध्यान नदिई जनताको ढाड सेक्ने गरेर अनावश्यक रूपमा मूल्यवृद्धि हुँदा समेत सरकारले जनताको समस्यालाई चासो नदिएको उनले बताए । कार्यक्रममा एमाले नेता–कार्यकर्ता लगायतको उपस्थिति थियो ।

