

कोहलपुरमा एक नवविवाहित दम्पती घरमै मृतावस्थामा फेला

बाँके – बाँकेमा एक दम्पती मृतावस्थामा फेला परेका छन्।
बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया उनकी श्रीमती मञ्जु गडरिया मृतावस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए ।
हालै विवाह गरेका यी दुई घरको तल्लो तलामा बस्ने गरेका थिए । सोही घरको माथिल्लो तलामा मृतकका दाई र भाउजु बस्ने गरेका थिए ।
आफू घटनास्थलमै रहेको र घटना शंकास्पद रहेको पनि डिएसपी न्यौपानेले बताए ।
कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको थियो। ‘पोष्टमार्टम नहुँदासम्म घटनाबारे भन्न सक्ने अवस्था छैन,’ डिएसपी न्यौपानेले भने, ‘ सरसर्ती नियाल्दा विषादी सेवन गरी आत्महत्या गरेको जस्तो घटना देखिदैन।’
शब पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

