
राजधानीमा मौलाउँदै जुवा अखडा, चिप्सवाला तासको प्रयोग गरी ‘खरानी’ !
काठमाडौं – नेपालका क्यासिनोहरुमा नेपालीलाई प्रबेश निषेध छ । केही नेपाली जुवा खेल्न कै लागी भारतको सिक्किम र गोवासम्म पुग्छन् । केही भने राजधानीका विभिन्न ठाउँमा क्यासिनो कै शैलीमा सञ्चालित जुवा अखडाबाट ‘टाट’ पल्टिँदै आएका छन् ।
यस्ता जुवा अखडामा केही गिरोहले योजनाबद्ध रुपमा जुवाडेलाई हराउँदै आएका छन् । दुईवर्ष अगाडी कालिमाटी प्रहरीले बरामद गरेको चिप्स प्रयोग भएका रिमोटबाट चल्ने जस्तै तास प्रयोग गरेर जुवा खेलाइने गरेको छ । जुवा खेलाउने गिरोहले यस्तै किसिमका तास र कौडाको प्रयोग गरेर जुवा खेल्ने र खेलाउने नाममा सर्वसाधारणले लुट्दै आएका छन् ।
जुवाडे गिरोहको यो लुट शैलीलाई उनीहरुको भाषामा ‘खरानी’ पार्ने भन्दै आएको पाइएको छ । यसरी सर्वसाधारणलाई ‘खरानी’ बनाउने समूहमा अहिले विभिन्न व्यक्तिहरू लागि रहेका छन् । उनीहरूले पेशेवार रूपमा नै जुवा खेलाउने गरेको पाइन्छ ।
उनीहरूले नेपाल प्रहरीका केही भ्रष्ट अधिकारीको मिलोमतोमा उपत्यकाका विभिन्न ठाउँहरूमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् ।
प्रहरीका सुचना संकलन गर्न खटिएका विभिन्न युनिटका सादा पोशाकका प्रहरीले उनीहरुसँग मोटो रकम लिएर जुवा सञ्चालनमा सहयोग पुर्याउने गरेको स्रोतको दाबी छ । कमजोर कानुनका कारण यस्ता जुवा अखडाहरु मौलाउँदै गएको प्रहरीको बुझाई रहेको छ ।



कागजपत्र |
