

अछाममा सुत्केरी व्यथा लागेकी महिलाको हवाई उद्धार

डोटी – सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी २० वर्षीया कृष्णा विकको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उनलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत कृष्णालाई सुत्केरी सेवा लिनका लागि निःशुल्क रुपमा हवाई उद्धार गरिएको भुलु स्वास्थ्य केन्द्रका अहेब राजेन्द्र विष्टले जानकारी दिए ।
उनका अनुसार कृष्णाको पेटभित्रको बच्चासँगै रहेको पानी फोका फुटिसकेको र बच्चा जन्माउन नसकेका कारण उनकाे हवाई उद्धार गरिएको हो । उद्धारपछि उनले प्रादेशिक अस्पताल सुर्खेतमा शल्यक्रियाद्वारा बच्चालाई जन्म दिएको बताइएको छ ।

