

मन्त्री भएपछि पहिलो पटक गृहनगर आएका कृषिमन्त्रीलाई १०१ किलोको माला

सप्तरी – कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंहलाई गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिकामा १ सय १ किलोको मालाले स्वागत गरिएको छ ।
मन्त्री भएपछि पहिलो पटक गृहनगर आएका मन्त्री यादवलाई आफ्नै भतिजा रहेका बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवसहितले १ सय १ किलोको फूलको माला लगाइदिएर स्वागत गरेका हुन् ।
बोदे बर्साइन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनका भतिजा मेयर सिंहसहित भाइ एवं पार्टीका नेता अनिरुद्ध सिंह यादवसहितले मन्त्रीलाई सम्मान गरेका छन् । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीले छुट्टाछुट्टै रुपमा पनि मन्त्री यादवलाई माला लगाएर स्वागत गरेका छन् ।
यसअघि मन्त्री यादवलाई सिरहाको लहानदेखि बोदे बर्साइनसम्म ल्याउनका लागि २ सयभन्दा बढी मोटरसाइकल र ५० भन्दा बढी चार चक्के गाडीको प्रयोग गरिएको छ । यो स्वागत गर्नका लागि नगरपालिकाबाटै व्यवस्था मिलाइएको थियो ।

