ब्लुबुक नविकरणका लागि कार्यालय नै खोली करोडौंको ठगी !


काठमाडौं – कार्यालय नै स्थापना गरी सवारीसाधनको ब्लुबुक नविकरण गरिदिने भन्दै पैसा उठाएको एउटा कम्पनी फरार भएको छ ।

सर्वसाधारणसँग सवारीसाधन नविकरणका लागि न्यूनतम शुल्क लिएर नविकरण गरिदिने भन्दै पैसा उठाएको बसुन्धरा कार्यालय राखेको भनिएको इ.जि. सेवा प्रा.लि. नामको कम्पनीका सञ्चालकका साथै सम्बन्धित व्यक्ति अहिले सम्पर्कबिहीन रहेका हुन् ।

बिलबुक नविकरणका लागि सामाजिक सञ्जालका साथै कार्यालयहरुमा गई मार्केटिङ गरी सर्वसाधारणसँग पैसा उठाएर रसिद समेत दिएको उक्त कार्यालयको कोही पनि अहिले सम्पर्कमा आएका छैनन् ।

गत असार २२ गते नविकरणका लागि लाग्ने ३ हजार ३ सय र सेवाशुल्क बापतको २ सय गरी जम्मा ३ हजार ५ सय बुझाएका एक सर्वसाधारणले रसिदसहित प्रहरीमा उजुरी दिएका हुन् । उनले प्रमाणस्वरुप बुझाएको रसिदको क्रम संख्या १३८४० नम्बर रहेकोले उक्त कम्पनीले धेरैलाई ठगी गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

फेसबुकको वालमा एक सर्वसाधारणले आफूले १८ दिन अघि २२ हजार रुपैयाँ बुझाएको भन्दै कमेन्ट गरेका छन् । यसबाट उक्त कम्पनीले करोडौं रकम उठाएर सम्पर्कबिहीन भएको अनुमान लगाउन सकिन्छ ।

रसिदमा भएको फोन र मोबाइलमा दुवैमा सम्पर्क हुन सकेको छैन । रसिदमा रहेको दुवै सम्पर्क नम्बर ल्यान्डलाइन फोनको ०१–५९०६१९२ र मोबाइल नम्बर ९८५११५८४५४ मा अहिले सम्पर्क हुन सकेको छैन । उक्त रसिदमा दर्ता नं. २२४२००÷०७५÷७६ मा दर्ता भएको भनिएको छ । उक्त रसिदका अनुसार उक्त कार्यालय कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्दछ किनभने नाम इ.जि सेवा प्रा.लि. उल्लेख गरिएको छ ।

उक्त कम्पनीको सामाजिक सञ्जालमा रहेको पेजमा उल्लेख मोबाइल नम्बर ९८५११२८५५१ पनि समाचार तयार गर्दाको अवस्थासम्म अफ रहेको छ ।

प्रतिक्रिया