

खोरमा पसेर बाघले मार्याे १२ वटा बाख्रा

बझाङ – बझाङमा बाघले एकैसाथ १२ वटा बाख्रा मारेकाे छ । बुङ्गल नगरपालिका- १ सतिवनका धनबहादुर बोहराको बाख्रा खोरमा पसेर बाघले दुई बाख्रा खानुकासाथै १० वटा बाख्राहरू मारेको हो ।
शनिबार दिउँसो बाख्रा चराएर बेलुका थुनेर घर फर्केका धनबहादुर आइतबार बिहान खोरमा पुग्दा बाख्रा मारेर छोडेको अवस्थामा फेला परेको उनले बताए ।
घरभन्दा माथि बनाइएको खोरमा बाख्रालाई थन्क्याएर घर फर्किएपछि रातिको समयमा बाघले खोरको पाखा उछिट्याएर बाख्रा खानुका साथै मारेर छाडेको थियो ।
जंगल नजिकै बाख्रा खोर भएको र बस्ती टाढा हुँदा बाघले खोरमा पसेर बाख्रालाई मारेको वडाध्यक्ष कस्वा बोहराले बताए।
बाघले बाख्रालाई खाएको देखेपछि स्थानीयहरू त्रसित भएका छन् । उक्त ठाउँमा हप्ताको एक दुई बाख्रा बाघले खाने गरेको स्थानीय जयलाल बोहराले बताए।
वडा अध्यक्ष बोहराले भने स्थानीय त्रसित भएका छन् बाख्रालाई पनि मारेको छ, बाघलाई नियन्त्रणमा लिन आवश्यक पहल चाल्ने छौ ।

