

विभिन्न स्थानबाट सशस्त्र प्रहरीद्वारा लाखौं मुल्यको अवैध सामान बरामद

काठमाडौं – पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ५ धर्मौली ईलाकाबाट सशस्त्र प्रहरीले करीब ७ लाख ८ हजार रुपैयाँ बराबरको अवैध चिनी बरामद गरेको छ ।
सो ठाउँमा भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र मातहत युनिटहरुबाट खटिएको सशस्त्र प्रहरीले उल्लेखित मूल्य बराबरको २ सय ३६ बोरा चिनी बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देव प्रसाद पौडेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले करीब १ लाख ४३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा विभिन्न सामान बरामद गरेको छ ।
अवैध रुपले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुर चोकबाट बरामद गरेको हो।
त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको २ सय ५० किलो सुपारी बरामद गरेको छ ।
नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागेको अवस्थामा उक्त सुपारी सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला सुपारी लैजादै गरेका व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त सुपारी सोही ठाउँमा छाडी फरार भएका थिए ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

