उपेन्द्र समूहले भन्यो : बाबुराम भट्टराईले काठमाडौंमा डाकेको भेला अवैधानिक


काठमाडौँ- जनता समाजवादी पार्टी नेपालमा देखिएको विवादले विभाजनको रेखा कोर्न थालेको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको विवादले पार्टी विभाजननजिक पुगेको हो।

यसैबीच गत असार १३ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार असार २९ र ३० गते बस्ने बैठक यथावत रहेको जनाइएको छ।

तर त्यही दिन डा. भट्टराईले काठमाडौंमा पार्टीको नाममा भेला बोलाएको भन्दै अध्यक्ष यादव पक्षले त्यसलाई अवैधानिक भनेको छ। वीरगञ्जमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने दिन नै डा. भट्टराईले भेला बोलाएपछि यादव पक्षले त्यसलाई अवैधानिक भनेको हो।

‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा त्यही दिन जसपा, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनि सामाजिक सञ्जाल लगायत केही सञ्चारमाध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको छ’, केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले भनेका छन्, ‘काठमाडौंमा त्यही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ।’

जसपा विभाजित हुन लाग्दा अल्पमतमा रहेको भट्टराई पक्षले समानान्तर गतिविधि तीव्र बनाएको छ। त्यसलाई रोक्न यादव पक्षले विज्ञप्ति नै निकालेर अवैधानिक भनेको हो।

प्रतिक्रिया