
विराटनगर महानगरकी उपमेयर कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुनेमा सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सब–इन्जिनियर मो। इफतेखार आलम, पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरे तथा वडा नं. १५ का तत्कालीन वडा अध्यक्ष असलम आलम छन् ।
उनीहरूले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट वास्तविक रूपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कार्यसमेत नापी किताबमा चढाई उपभोक्ता समितिसँगको सम्झौता अनुसारका निर्धारित सर्त तथा मापदण्ड विपरीत ज्यामीद्वारा गर्नुपर्ने माटो फिलिङ्गको कार्य रोलर मेसिनद्वारा गराई उक्त कार्यलाई ज्यामीद्वारा गरेको भनी गैर कानुनी लाभ प्राप्त गर्ने बदनियतले कार्य सम्पन्न प्रतिवेदन तयार गरी महानगरपालिकामा पेस गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो कागजातहरू स्वीकृत गरी १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।



कागजपत्र |
