
उच्च अमेरिकी सैन्य अधिकारीसँग भेटघाट गर्दै प्रधानसेनापति शर्मा
काठमाडौं – अमेरिका भ्रमणमा रहेका प्रधानसेनापछि प्रभुराम शर्माले त्यहाँका उच्च सैन्य अधिकारीहरुसँग भेटघाट गरेका छन्। मंगलवार शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याककन्भिलसँग पनि भेट तथा छलफल गरेका हुन् ।
त्यसैगरी शर्माले अमेरिकी सेनाका उपप्रमुख एड्माइरल क्रिस्टोफर ग्रेडी र दक्षिण र पूर्वी एसिया मामिला हेर्ने रक्षा मन्त्रालयकी डेपुटी एसिस्टेन्स सेक्रेटरी लिन्डसे फोर्डसँग पनि भेट गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
‘उक्त भेटघाटका क्रममा, नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिका बीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरुमा छलफल तथा विचार विमर्श भएको थियो,’ निर्देशनालयले जारी गरेको प्रेस मिटमा उल्लेख छ।
स्थानीय समयअनुसार प्रधानसेनापति शर्मासहितको टोलीले आज साँझ संयुक्त राष्ट्रसंघको मुख्यालयमा पुगी त्यहाँका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनायो। प्रधानसेनापति शर्मा असार १३ गते अमेरिका भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।



कागजपत्र |
