

बाल यौन दुरुपयोगको अभियोग लागेका होस्टल वार्डेन पुर्पक्षका लागि थुनामा

काठमाडौं – काठमाडौं जिल्ला अदालतले बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरुको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए । तर बस्नेतले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।
तर अदालतले पीडितहरुले घटना विवरणमा उल्लेख गरेको व्यवहार आफ्नो शिक्षकले गरेका हुन् भनी सामान्य समझबाट पनि कल्पना गर्न नसकिने प्रकृतिको भएको उल्लेख गरेको छ । ‘संरक्षक र अभिभावकको रुपमा रहेका शिक्षकबाट यस्तो व्यवहार अपेक्षित हुँदैन’ आदेशमा भनिएको छ ।
बालयौन दुरुपयोग गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (३) अनुसार ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ । प्रहरीले जेठ २१ गते होस्टल वार्डेन बस्नेतलाई पक्राउ गरेको थियो ।

