

न्युजिल्याण्ड पठाउने भन्दै चन्द्रमा ओभरसिजद्वारा लाखौं ठगी

काठमाडौं । बैदेशिक रोजगारीको लागि आकर्षकत तलब र भत्ता पाउने आश्वासन दिँदै गैरकानूनी रुपमा नेपालका युवाहरुलाई न्यु्जिल्याण्ड पठाउने भन्दै चन्द्रमा ओभरसिज प्रालिले लाखौं रुपैयाँ असुल गरेको छ ।
काठमाडौंको गोङ्गबुमा कार्यालय रहेको सो ओभरसिजले न्युजिल्याण्ड पठाई दिन्छु भनी आफूबाट चार लाख ५० रुपैयाँ लिएको झापा हल्दीबारी गाउँपालिका जलथलका नारायण गिरीले गुनासो गरेका छन् ।
बैदेशिक रोजगारीमा न्युजिल्याण्ड पठाइदिन्छु भन्दै चन्द्रमा ओभरसिजकी संचालक बुद्ध पञ्चकोटीले आजभन्दा करिव ४ वर्षअघि चार लाख ५० रुपैयाँ लिएको देखिन्छ । आफूले पटक पटक बिदेश उडाउन नसक्ने हो भने पैशा फिर्ता गर्नको लागि गरेको आग्रह सो ओभरसिजकी संचालक बुद्ध पञ्चकोटीले नसुनेको पीडित गिरी बताउँछन् ।
चन्द्रमा ओभरसिज प्रालिकी संचालक बुद्ध पञ्चकोटीले आफूले न्युजिल्याण्ड पठाउन नसक्नुको कारण गिरीलाई थाहा भए पनि बारम्बर पैशा फिर्ता मागेर तनाव दिएको बताइन् । अनलाईन न्युज सेभेनसँग उनले भनिन्, उसको पैशा मैले तिर्दै आएको छु । तर मलाई फोन गरेर तनाव दिएका कारण इरिटेसन भएको छ ।’
पीडित गिरीले आफूले २०७५ साल असोज ४ गते चार लाख ५० हजार रुपैयाँ चन्द्रमा ओभरसिजकी संचालिका बुद्ध पञ्चकोटीलाई सानीमा बैंकको बिर्तामोठ शाखाबाट रकम दिएको र असोज १० गते न्युजिल्याण्डको उडान भएको बताए पनि एक हप्ता दुई हप्ता भन्दै टार्ने गरेको बताए ।
पीडित गिरीले संचालक पञ्चकोटीले आफूलाई २०७६ सालमा एक लाख रुपैयाँ दिए पनि आफूले मिटर व्याजमा ऋण लिएका कारण आफू ब्याज तिरेर मारमा परेको बताए । गिरीले आफूले दिएको रकम माग गर्न थालेपछि एक पटक एक लाख र अर्को पटक १५ हजार बुझाएको पञ्चकोटीको दाबी छ ।
पीडक भनिएकी पञ्चकोटीले आफूले गिरीलाई रकम फिर्ताको लागि चेक दिएको तर ‘चेक बाउन्स’ गरिदिएका कारण थप रकम उपलब्ध गराउन नसकेको बताउँछिन् । गिरी भने आफूले पाउनु पर्ने रकम पाएमा चेक बाउन्सको प्रक्रिया फिर्ता गरिदिने बताउँछन् ।

