शंकास्पद रूपमा भेटिएको पाइप बम सेनाद्वारा डिस्पोज


सिमकोट – जिल्ला अस्पताल क्षेत्र नजिक शंकास्पद रूपमा भेटिएको पाइप (आईडी) बम भएको र त्यसलाई निष्क्रिय पार्ने कार्य सफल भएको छ। बराहदल गुल्म रानीबनबाट गएको नेपाली सेनाको टोली बम भेटिएको क्षेत्रबाट एकान्त दुनेलामा लगेर निष्क्रिय पारेको हो।

बराह दल रानीबन गुल्मले शंकास्पद रुपमा भेटिएको बस्तुु पाइप बम भएको र त्यसलाई सेना निष्क्रिय पार्न सफल भएको जनाएको छ। यसका लागि गुल्मबाट बम डिष्पोजल टोली बम भेटिएको क्षेत्रमा खटिएको थियो। अस्पताल क्षेत्र नजिक भएको कारण सो बमलाई सुरक्षित र एकान्त क्षेत्र दुनेलामा लगेर डिस्पोज गरिएको हो।

किसानले जग्गा जोत्ने क्रममा प्लास्टिकमा बेरिएको पाइप बमजस्तो लाग्ने उक्त वस्तुु भेटिएको हो। किसान सोनाम लामाले जग्गामा जोत्ने क्रममा शंकास्पद वस्तुु भेटिएको बताउँदै शंका लागेर प्रहरीलाई खबर गरेका थिए।

खबर पाएलगत्तै नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको थियो। सशस्त्र माओवादी जनयुद्धको समयमा सुरक्षाकर्मीले राखेको हुन सक्ने स्थानीयले बताएका छन्।

प्रतिक्रिया