

जनसंख्याका आधारमा संसदीय निर्वाचन क्षेत्र पुनः निर्धारण गरौँ : उपेन्द्र यादव

जनकपुर- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिहरुको संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन्।
जनकपुरधाममा सोमबार साँझ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मधेस आन्दोलनबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीलगायतका उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्ने बताए।
‘मधेसी समुदायले पूर्णरूपमा अधिकार प्राप्त गर्न सकेको छैन, त्यसैले अधिकार प्राप्तिका लागि अझै सङ्घर्ष गर्नुपर्छ”, अध्यक्ष यादवले भने, ‘समानता र सामाजिक न्यायका लागि राजनीतिक सङ्घर्ष र आर्थिक समृद्धि र विकासका लागि चुनावी सङ्घर्ष गर्नुपर्छ।’ चुनावको माध्यमबाट शक्ति आर्जन गर्ने र त्यसपछि विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘अहिलेको सङ्घीयता आपाङ्ग छ,’ अध्यक्ष यादवले भने, ‘सङ्घीयतामा प्रदेश सरकार स्वायत्त हुन्छ, तर अहिले प्रदेश सरकार स्वायत्त छैन, अधिकांश अधिकार केन्द्रीय सरकारसँगै छ।’ सङ्घीयतालाई पूर्ण बनाउन प्रदेश सरकारलाई स्वायत्त बनाउनुपर्ने उनको कथन थियो।
जनसङ्ख्याका आधारमा संसदीय निर्वाचन क्षेत्र पुनः निर्धारण माग गर्दै अध्यक्ष यादवले जनगणनाअनुसार तराई मधेसको जनसङ्ख्या ५३ प्रतिशत पुगेकाले सोही अनुपातमा तराई मधेसका जिल्लामा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताए।
अहिलेको निर्वाचन प्रणाली असाध्यै खर्चिलो र बेथितिपूर्ण रहेकाले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्नेमा जोड दिँदै उनले यही निर्वाचन प्रणाली रहिरहे राजनीति धेरै महँगो हुने र त्यसले मुलुकको राजनीति व्यवस्था नै धरापमा पर्ने चेतावनीसमेत दिए।

