म्याग्दीका ३१ बस्ती पहिरो र १३ बस्ती नदीकटानको उच्च जोखिममा


म्याग्दी – हिमाली जिल्ला म्याग्दीका विभिन्न ३१ वटा बस्ती पहिरो र १३ वटा बस्ती नदी कटानको उच्च जोखिममा परेका छन्।

पहिरो र नदी कटानका कारण म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको भू तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले जनाएको छ। कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार ३१ वटा बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा परेका छन्।

सहायक भूसंरक्षण अधिकृत मिश्रका अनुसार बेनी नगरपालिकाको भकिम्ली, सिंगा तातोपानी, बगरफाँट पुलाचौर, भसभसे, घतान, पात्लेखेत,धवलागिरीको लमसुङ, खोरिया, दर, ताकम, मंगलाको खर्सुपानी, बाबियाचौर,मालिकाको देवीस्थान, बिम, जुकेपानी, छाप, रातोढुङ्गा, रुम, घोर्सी, दिच्याम गोगनपानी, दरवाङ, रघुगंगाको पाखापानी, दग्नाम, राहुघाट, कटुवालटोल, भगवती, रानीपौवा, पिप्ले, अन्नपूर्णको दोवा, घोस्केखोर, शिख तल्लोगाउँ र फगाम पहिरोको जोखिममा परेका हुन्।

यसैगरी कालीगण्डकी, म्याग्दी, राहुघाट नदीको तटीय क्षेत्रमा रहेको दरवाङ, दुखुवेशी, सहस्रधारा, शेरफाँट, हाँडेभिर, पीपलचौतारी, पानाबगर, काशेबगर, ताराखेत, सिंगा तातोपानी, बगरफाँट, गलेश्वर, भुरुङ्ग तातोपानीमा कटानको जोखिम भएको सहायक संरक्षण अधिकृत मिश्रले बताए।

‘म्याग्दीबाट वार्षिक दुई हजार ५१९.७६ मेट्रिक टन माटो भूक्षयका कारण बगेर जाने गरेको छ’‚ उनले भने ‘माथिल्ला क्षेत्रमा पहिरो र भूक्षय हुँदा नदीहरूमा बाढीको आयतन बढेर कटान हुने गरेको छ।’

मिश्रका अनुसार जोखिमयुक्त ठाउँबाट ४५ स्थानमा पहिरो नियन्त्रण, २५ स्थानबाट खोला किनार संरक्षण, ३२ स्थानबाट गल्छी संरक्षण र व्यक्तिगत घर, खेतबारी संरक्षणका लागि ७५ जनाको माग निवेदन आएको छ।

कालीगण्डकी, राहुघाट र म्याग्दी नदीमा सहायक खोलाहरूबाट आउने बाढीले नदीको धार परिवर्तन गराउनु, सडक निर्माण गर्ने क्रममा भिरालो जमिन कटान गर्दा सडकभन्दा माथिको माटो तल फाल्नु र सोको व्यवस्थापन नगरिनु, सडकले गर्दा परापूर्वकालदेखि बग्दै आएको भलबाढी अनियन्त्रित हुनु र नदीमा बाढीको आयतन बढेर तटीय क्षेत्रमा कटान गर्ने समस्या रहेको सहायक संरक्षण अधिकृत मिश्रले बताए।

यसैबीच म्याग्दीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले मनसुनजन्य विपद्को जोखिमयुक्त स्थान पहिचान, सतर्कता, विपद्को अवस्थामा उद्धार, राहत र व्यवस्थापनका लागि विगतको अभ्यास र सरोकारवालाहरुको सुझावको आधारमा प्रतिकार्य योजना बनाएर कार्यान्वयन थालिएको बताए।

उच्च जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सार्न स्थलगत अध्ययन र जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीको तटीय क्षेत्रमा बाढीको पूर्व सूचनाका लागि सम्पर्क व्यक्ति खटाउने प्रक्रिया थालिएको उनले बताए।

खेलमैदान निर्माणमा भएको लापर्वाहीले बस्ती जोखिममा

ठेकेदारको लापर्वाहीका कारण म्याग्दीको पर्यटकीयस्थल टोड्केमा निर्माणाधीन हाई अल्टीच्यूड खेलमैदानले गाउँ जोखिममा परेको छ। खेलमैदानले मंगला गाउँपालिका–१, पूर्णगाउँमा एक घरमा पूरै क्षति पुगेको छ भने करिब दुई दर्जनभन्दा बढी घर उच्च जोखिममा छन्।

जिल्लाको रघुगङ्गा र मङ्गला,गाउँपालिकाको सिमानामा अवस्थित टोड्केको खेलमैदानमा मंगलातर्फको संरचनामा ठेकेदारले चरम लापरवाही गरेपछि बस्ती नै जोखिममा परेको मंगला–१ का वडाध्यक्ष एकजित रोकाले बताए।

‘खेलमैदानले बस्ती नै जोखिममा परेको छ’‚ रोकाले भने‚ ‘संरचना बनाउँदा चरम लापरवाही देखियो।’ खेलमैदान आसपासबाट खसेको बाढीले पूर्णगाउँको तिलघर र वराहथान बस्ती नै जोखिममा परेको स्थानीय बासिन्दाको भनाइ छ।

टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन मनीषा निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ। पर्खालसहित भलिबल, बास्केटबललगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेल मैदान बनाउँदा फालिएको माटोले बाढी चलेको छ।

खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८८० रुपैयाँ लागत अनुमान गरिए पनि कुल ५ करोडभन्दा बढी लागतमा थप संरचनासमेत बनाइने जनाइएको छ।

टोड्के प्राकृतिको अनुपम उपहार, स्वर्गद्वारीको शाखा आश्रम समेत रहेकाले देशका विभिन्न जिल्लाबाट समय समयमा आएर ऋषिमुनि आएर तपस्या गर्ने गरेकाले पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया