१५ सय टिन तेलसहित अवैध रुपमा नेपाल छिरेको भारतीय ट्रक बरामद


राजविराज – अवैध रुपमा नेपाल प्रवेश गरेको १ हजार ५ सय टिन तेलसहितको मालवाहक भारतीय ट्रक सशस्त्र प्रहरीले शुक्रबार सप्तरीबाट नियन्त्रणमा लिएको छ।

हनुमाननगर-कंकालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट रिफाइन्ड पाल्मोनियम तेलसहितको यूपी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहको टोलीले बरामद गरेको हाे।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त देहानका ३८ वर्षीय अवध वाबु र सहचालक २३ वर्षीय धिरजकुमार पक्राउ परेका छन्।

बरामद तेल र ट्रकको नेपाली कागजपत्र र विजक नभएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बेल्हीमा बुझाइएको प्रहरीले जनाएकाे छ । तेलको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको टोलीले सोधपुछ गर्दा शंका लागि चेकजाँच गर्दा उक्त तेल बरामद भएको हो। तामाङका अनुसार ट्रक चालकले कहिले जोगबनी नाकाबाट प्रवेश गरेको, कुनै बेला भारततर्फ हिंडेको त कुनैबेला बाटो बिर्सिएर नेपालमा अल्मलिएको बताएका छन्।

प्रतिक्रिया