
सुरक्षागार्डलाई खुकुरी हान्ने ट्रिनिटीका ४ विद्यार्थी पक्राउ
काठमाडौं – कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ परेको छन् ।
काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा कलेजका चार जना विद्यार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
बास्केटबल खेल्ने क्रममा विवाद भएपछि छुट्याउन गएका सुरक्षागार्डमाथि मंगलबार दिउँसो साढे १ बजे खुकुरी प्रहार भएको थियो।
घाइते भएका सुरक्षा गार्डलाई प्रहरीले उद्धार गरी मोडेल अस्पताल पुर्याएको थियो। उनको बायाँ कानमुनि चोट लागेको छ। उनको उपचारपछि डिस्चार्जसमेत भइसकेको छ।
प्रहरीले घटनामा संलग्न म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं डिल्लीबजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतीक खतिवडा र टोखा बस्ने १८ वर्षीय सञ्जिव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। जोसन बानियाँले सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान प्रहरी वृत्त सिंहदरबारले गरिरहेको छ।



कागजपत्र |
