समीरमानलाई जेलमा भेट्दा मेट्रो तानिए डीएसपी केसी


काठमाडौं – गुन्डानाइके समीरमान सिंह बस्नेतलाई कारगारमा भेट्न पुगेका स्वयम्भु वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) छानबिनका लागि उपत्यका प्रहरी कार्यालय (मेट्रो) तानिएका छन् ।

डीएसपी केसीलाई थप छानबिनका लागि मेट्रो तानिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रविन्द्र धानुकले बताए ।

एआईजी धानुकले मेट्रोको कमाण्ड सम्हालेलगत्तै यस किसिमको घटना बाहिरिनुलाई संयोगमात्र नभई पछिल्लो समय उपत्यकामा आपराधिक घटनाक्रम बढेको मात्र नभई आपराधिक समूहले संगठनभित्रकै अधिकारीहरुलाई पनि प्रयोग गरेको हुनसक्ने तथ्य बाहिरिएको छ ।

डीएसपी केसीले सार्वजनिक बिदाको दिन आइतबार गुण्डा नाइके अमृत केसीको साथमा सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके बस्नेतलाई भेट्न पुगेका थिए ।

जेलमा रहेका कैदीलाई अनुसन्धानका लागि प्रहरी भेट्न जाने कुरा सामान्य भए पनि डिएसपी केसी बिदाका दिन बिना कुनै जानकारी भेट्न जानुलाई आचरणविपरित मात्र नभई आपराधिक मानसिकता नै हुनसक्ने जनाइएको छ ।

सो घटनाबारे काठमाडौं परिसरले पनि एसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानिबन समिति गठन गरेको जनाइएको छ ।

निर्माण व्यवसायी संघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा थुनामा रहेका सिंहलाई भेट्न केसीद्वय पुगेका थिए । बस्नेतले जेलभित्रैबाट आपराधिक क्रियाकलाप गराउँदै आइरहेको जनाइएको छ ।

प्रतिक्रिया